बाँकेका पत्रकारको आँखामा सुख्खापनको समस्या

नेपालगञ्ज ।

बाँकेका पत्रकारका आँखामा सुख्खापनको समस्या देखिएको छ । १५औँ स्थापना दिवसको अवसरमा अवधि पत्रकार सङ्घ नेपाल केन्द्रीय समिति नेपालगन्जले नेपाल नेत्रज्योति सङ्घ फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको सहयोगमा पत्रकारहरूको निःशुल्क आँखा जाँच गरेको थियो ।

जिल्लाका पत्रकारमध्ये आँखा जाँच गराउने ६० जना पत्रकारमध्ये अधिकांशमा सुख्खापनको समस्या देखापरेको हो । आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकका अनुसार २४ जना पत्रकारमा सुख्खापन, केही वयस्कहरूलाई टाढाको दृष्टि र ४० वर्ष नाघेकाहरूलाई नजिकको नदेख्ने र एक जना पत्रकारलाई मोतिविन्दुको समस्या देखा परेको थियो ।

पत्रकारले समाचार सङ्कलन, लेखन र सम्पादनका क्रममा कम्प्युटर, ल्यापटप र स्मार्ट फोनमा बढी काम गर्नुपर्ने भएकाले आँखामा समस्या देखिएको हो । पत्रकारलाई कम्प्युटर र मोबाइल चलाउने बेला स्वास्थ्यकर्मीले ब्लुकट भएको चस्मा लगाउन सिफारिस गरेका छन् ।

सुख्खापन हुनेलाई निःशुल्क औषधि, चस्मा लगाउनेहरूका लागि ५० प्रतिशत छुट र मोतिविन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्माले बताए ।