बालबालिकालाई प्राथमिक उपचार तालिम




कोहलपुर ।

रेडक्रस उपशाखा कोहलपुरको ६१ औ स्थापना दिवसमा बालबालिकालाई प्राथमिक उपचार तालिम दिइएको छ ।

सोमबार कोहलपुर-२ मा रहेको शिवशक्ति आधारभूत विद्यालयमा भएको ६१ औ स्थापना दिवसको अवसरमा जुनियर रेडक्रस सर्कसका बालबालिकालाई एक दिने प्राथमिक उपचार तालिम दिइएको हो ।

 शिवशक्ति आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कसका अध्यक्ष स्मारिका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अथितिमा एक दिने तालिमको उद्घाटन भएको थियो ।

नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आकस्मिक घटनामा यस तालिमले सहयोग पुग्ने बताए । नगरपालिकाले बालबालिकाहरुलाई प्राथमिक तालिमहरु निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै कोहलपुर नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयमा गठित भएका जुनियर रेडक्रस सर्कसका बालबालिकाहरुलाई एक दिने तालिममा घाइते जाँच, श्वास—प्रश्वास समस्या, रक्तस्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट, घाउ, चोटपटक र पट्टीहरु, हाड भँचाई र खुस्काई, पोलाइ तथा करेन्ट लाग्नु, विष, घाइतेको ओसारपसार र प्राथमिक उपचार बाकस जस्ता विषयमा तालिम दिइएको थियो ।

शिवशक्ति आधारभूत विद्यालयका प्रअ बद्रि सापकोटाले बालबालिकाहरुलाई कितावी ज्ञानभन्दा बाहिरी ज्ञान आदानप्रदान गर्नु अति आवश्यक रहेको बताए ।

बालबालिकाको थप ज्ञान बृद्धि हुने भएकोले सबै विद्यालयहरुले समेत यस्ता अतिरिक्त क्रियाकलाप संगसंगै उपचारका विधिहरु समेत जानकारी गराउनुपर्नेमा जोड दिए ।

यस्तै तालिमको सहजकर्ता जयश्वर पौडेलले गरेका थिए भने रेडक्रस कोहलपुर उपशाखाका प्रमुख युवराज पोख्रेलले कार्यक्रम सञ्चान गरेका थिए ।

यस्तै तालिममा कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेत, महिला सदस्य सतिदेवी तिमिल्सिना र रेडक्रसका जुनियर सर्कल संयोजक छत्र रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार