कोहलपुर ।
नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै भोलीदेखि ‘विशेष रुपान्तरण अभियान’ तीन महिने अभियान सुरु गर्ने जानकारी दिएको छ ।
बाँके लगायत देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा समेत भोलीदेखि अभियान सुरु हुने भएको छ ।
शुक्रबार माओवादी केन्द्र बाँकेले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अभियानको बारेमा जानकारी दिएको हो । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले भोली बाँकेका ८ वटै पालिकाका ८१ वटा वडामा एकसाथ अभियान उद्घाटन गर्ने तयारी भएको जानकारी दिए ।
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ बाँकेमा उद्घाटन हुने अभियानको तिन महिने कार्यतालिका समेत सार्वजनिक गरीएको छ । अभियानभरी ६ वटा मुख्य एजेण्डामा केन्द्रित रहेर साँगठानीक गतिविधि संचालन गरीने पाण्डेले बताए ।
पाण्डेका अनुसार अभियानका क्रममा राजनैतिक वैचारीक कार्य, संगठनात्मक कार्य, संघर्ष तथा जनसम्बन्ध बारे कार्य, प्रचारात्मक कार्य र आर्थिक उत्पादन सम्बन्धिका गतिविधिहरुलाई विशेष प्राथमिकतामा राखेर अभियान संचालन गरीने छ ।
अभियानको भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताईएको छ ।
केन्द्रिय कार्यालय काठमाण्डौंबाट अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट देशैभर एक साथ अभियान उद्घाटन गरेपछि जिल्ला, पालिका र वडास्तरका गतिविधिहरु संचालन गरीने उनले बताए ।
अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने नेकपा माओवादी केन्द्रका स्थायी सिमित सदस्य एवं बाँके जिल्ला अभियान ईन्चार्ज कुल प्रसाद केसी (सोनाम) ले बताए ।
‘हामी जनतासँग भिज्न सकेको छैनौं’ अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्ने भन्दै उनले भने, ‘यसअर्थमा यो अभियान हाम्रो अन्तिम परीक्षा हो ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्