वागेश्वरी बहुमुखीमा विज्ञान संकायको सम्भाव्यता अध्ययन

कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा विज्ञान संकायको सम्भाव्यता अध्ययन भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका ग्य्राजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सह-प्राध्यापक सुदिप ठकुरी, कम्प्यूटर साइन्सका कोडिनेटर डबल महराले वागेश्वरी बहुमुखी क्याम्पसमा विज्ञान संकायको सम्भाव्यता अध्ययन गरेका हुन् ।

आज (आइतबार) विज्ञान संकायको सम्भाव्यता अध्ययन पश्चात वागेश्वरी बहुमुखी क्याम्पसको हलमा भएको कार्यक्रममा बोल्दै ग्य्राजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सह-प्राध्यापक ठकुरीले विज्ञान संकायको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा मध्यपश्चिम विश्वविद्यालय सकारात्मक रहेको बताए ।

‘विज्ञान संकाय कार्यक्रम चलाउन कम्तीमा पाँच मुल मापदण्डहरु पुरा गरेको हुनुपर्छ,’ उनले भने, ‘भौतिक संरचना, ल्याब, प्राध्यापक व्यवस्थापन, खेलकुद र पहिलो सेमिस्टर अत्याधि भर्ना हुने/अन्तिम सेमिस्टरमा विद्यार्थी नहुने जस्ता समस्यालाई नजिकबाट नियालेर कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

‘विज्ञान संकायमा फन्डामेण्टल साइन्स मात्र हुन्छ,’ उनले थपे, जसमा ६ वटा कार्यक्रम हुन्छ । त्यसलाई भौतिक संरचना र ल्याब निर्माण भएपछि मात्र विज्ञान संकाय कार्यक्रम लागू हुने ग्य्राजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सह-प्राध्यापक ठकुरीले बताए ।

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा विज्ञान संकायको अति आवश्यक भएकोले नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नगरपालिकाले शिक्षामा बढि लगानी गरेको छ,’ उनले भने, ‘त्यसैले नगरपालिका भित्र शिक्षा क्षेत्रमा नयाँ-नयाँ कार्यक्रम ल्याउन आफै लाग्ने छु ।’ कोहलपुर नगरपालिकालाई प्राविधिक धारका कार्यक्रमहरु सबै मावि विद्यालयहरुमा समेत सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख आचार्यको भनाई थियो ।

यस्तै क्याम्पस प्रमुुख दान बहादुर हमालले कर्णाली प्रदेश, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका विद्यार्थीहरुलाई विभिन्न संकायमा शिक्षा प्रदान गर्दै आएको बताए । ‘कोहलपुरमा बैजनाथ, राप्तीसोनारी र कोहलपुरका विद्यार्थीहरुले विज्ञान संकायमा अध्ययन गर्न पाएका छैनन,’ उनले भने, ‘जसका लागि नेपालगञ्ज सम्म धाउनुपर्ने बाध्यता छ ।’ त्यसको अन्त्यको लागि कोहलपुरमा नै विज्ञान संकाय सञ्चालन गर्नुपर्ने क्याम्पस प्रमुख हमालले बताए ।

यस्तै विज्ञान संकायको सम्भाव्यता अध्ययन कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यम रावत, एन प्याब्सन लुम्बिनी प्रदेशका सदस्य शिव डाँगी, प्रध्यापक संघका अध्यक्ष राज बहादुर चन्द, शिक्षक संघ बाँकेका अध्यक्ष रिसीराज शर्मा, सगरमाथा ज्ञानपुञ्ज माविका प्रअ मोहन चौधरी, बाल विद्या मन्दिरका प्रिन्सिपल गोविन्द सुवेदी र वागेश्वरी बहुमुखी क्याम्पसका स्ववियूका सभापति देवेन्द्र बुढाले विज्ञान संकालय तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक, सामुदायिक र संस्थागत विद्यालयका प्रअ लगायत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।