माओवादी केन्द्रको तीन महिने अभियान: लुम्बिनीका १२ जिल्लामा तोकिए अभियान संयोजक

 लुम्बिनी

नेकपा माओवादी केन्द्रले लुम्बिनीमा गर्न लागेको तीन महिने अभियानको तयारी सुरू भएको छ।

भदौ १६ देखि सुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अगाडि सारेको छ।

यसैक्रममा माओवादी केन्द्र लुम्बिनीले अभियानको तयारी थालेको हो।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको चौथो पूर्ण बैठकले अभियान सफल पार्न तयारी थाल्ने निर्णय गरेको केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए।

बैठकले प्रदेशका १२ वटै जिल्लामा अभियान संयोजक तोकेको छ।

रूकुम पूर्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोखबहादुर महरा, अर्घखाँचीमा बामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रूपन्देहीमा गणेशमान पुन, कपिलवस्तुमा महेश्वर गहतराज, दाङमा जयपुरी घर्ती, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णाकुमारी सुवेदी अभियान संयोजक तोकिएका छन्।

बैठकमा सबै जिल्ला संयोजकले रिपोर्टिङ गरेका थिए भने हालै भएको पार्टी केन्द्रीय समिति बैठकका निर्णयबारे उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इञ्चार्ज हितमान शाक्य, स्थायी समिति सदस्य रेखा शर्मा लगायतले जानकारी गराएका थिए।

पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाई एक अर्कामा जोड्दै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियान सफल पार्न जनतासँग एकाकार अभियानको मूल उद्देश्य रहेको केन्द्रीय सदस्य शर्माले जानकारी दिए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, बामपन्थी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार पार्ने अभियभानको उद्देश्य हो,’ उनले भने, ‘अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्यसहित संचालन कार्यविधि निश्चित गरिएको छ।’

प्रदेशका एक सय नौ पालिकाहरूमा पार्टी संगठन सुदृढ गर्ने, नौ सय ८३ वडाहरूमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौं पार्टी सदस्यहरूलाई परिचालन गर्ने र लाखौं जनतामा पुग्ने लक्ष्य राखिएको उनले बताए।

अभियानलाई तीन चरणमा सम्पन्न गर्न निर्णय बैठकले गरेको छ।

भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घाटन र २५ गतेसम्म वार्मअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ।

बैठकले जगप्रसाद शर्माको नेतृत्वमा चक्रव्यह थापा, नारायण अधिकारी, लक्ष्मी चौधरी रहेको अभियान अनुगमन तथा प्रशिक्षण टीम निर्माण गरेको छ।

केन्द्रीय सदस्य जिल्ला बाहिर, प्रदेश सदस्य पालिका बाहिर अभियान सफल पार्न केन्द्रीय सदस्यलाई जिल्ला बाहिर पठाउने नीति लिएको छ।

अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला र प्रदेश सदस्यहरूलाई अन्तर पालिकामा खटाउने गरी कार्य क्षेत्र विभाजन गर्ने केन्द्रीय समितिको बैठकबाट नै निर्णय भएको नेताहरूले बताएका छन्।

अभियान टीमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम गर्ने योजना बनाएको छ।

अभियानका क्रममा आठौं महाधिवेशनबाट पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो सम्बन्धी रणनीति र कार्यनीति पनि पार्टी पंक्ति र जनसमुदाय स्तरसम्म पुर्‍याउने नीति बनाइएको शर्माले जानकारी दिए।

नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्‍याउने लक्ष्य लिएको अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुग्ने आशा नेताहरूले गरेका छन्।