कोहलपुरले मानव बेचविखन विरुद्ध बनायो नयाँ योजना




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले मानव बेचविखन विरुद्ध नयाँ योजना बनाएको छ । कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको केन्द्र विन्दु रहेको कोहलपुरलाई ट्रान्जिट बनाएर हुने मानव बेचविखन र ओसारपसार नियन्त्रण गर्ने नयाँ बनाएको हो ।

आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिको आयोजना र माइती नेपालको सहजिकरणमा पछिल्ला गतिविधिहरुलाई समिक्षा गर्दै मानव बेचविखन विरुद्ध नयाँ योजना बनाएको हो ।

बाँकेमा अन्य पालिकाभन्दा कोहलपुर ट्रान्जिट प्वाइन्ट भएका कारणले उच्च जोखिममा छ । नेपाल प्रहरी र माइती नेपालको तथ्थांक अनुसार देशभरी नै ५ सय २९ जनालाई उद्धार गरेको थियो भने बाँकेमा भने ८२ जना रहेका थिए ।

बाँकेका ८२ मध्ये २१ जना कोहलपुर, २० बैजनाथ, १४ नेपालगञ्ज, १३ राप्तीसोनारी, १२ खजुरा, जानकी र डुडुवा १/१ जना र नरैनापुरमा भने शुन्य रहेको तथ्थांक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका प्रमुख केशव कोइराला जानकारी दिए ।

नयाँ योजना बनाउँदा महिला शाखाका अधिकृत घटना शाह, आर्थिक विकास समिति संयोजक अनिता बुढाक्षेत्री, जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक (डिएसपी) सुन्दर तिवारी, माइती नेपाल नेपालगञ्ज कार्यालयका प्रमुख केशव कोइराला, नेपाल रेडक्रस उपशाखा कोहलपुरका प्रमुख युवराज पोख्रेल, स्वास्थ्य शाखाका अधिकृत अनिल सेन, होटल व्यवसायी संघका अध्यक्ष मोहन रिजाल, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही लगायत मानव बेचविखन विरुद्धको समितिले नयाँ योजना बनाएको हो ।

कोहलपुर नगरपालिकामा रहेका होटल, रेष्टुरेण्ट, मनोरञ्जन, स्पा (मसाज सेन्टर) भाडामा बसिरहेका व्यक्तिहरुको घरवेटीहरुसंग समन्वय गरी तथ्थांक संकलन गर्ने, विद्यालयदेखि टोलटोलमा अभिमूखिकरण, स्टिकर टाँस गर्ने, पत्रकारहरुसंग अन्तक्रिया गर्ने, पालिकादेखि वडासम्मका समितिलाई सक्रिय बनाउने, बाल क्बल र युवा क्लबहरुले विद्यालयमा चित्रकला प्रतियोगिता र अन्य गतिविधि समेत सञ्चालन गर्ने नयाँ योजनाहरु बनाएको छ ।

आर्थिक विकास समिति संयोजक अनिता बुढाक्षेत्रीले नीति, कानुन र योजना निर्माण भएकोले अब काम गर्ने सहज भएको बताइन् ।

स्थानिय सरकार संचालन ऐन, २०७४ अन्तरगत वडा समितिको गठन, वडा समितिको काम कारवाही, प्रमुख कार्य, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण स्थानीय समितिको क्रियाशिलता, मुद्धा दर्ता आदि कानुनको बारेमा जानकारी तथा स्थानिय समितिको अनुभव आदान प्रदान गरिएको थियो ।

घटना दर्ता सम्बन्धि व्यवस्था, कसुर तथा उजुरी गर्ने कानुनी प्रकृया र प्रावधान,मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानुनी सम्बन्धी एक दिने अभिमूखिकरण कार्यक्रम समेत गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार