संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु, जेलरविरूद्ध पक्राउ पुर्जी

संखुवासभा ।

संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन्।

आइतबार जिल्ला प्रहरी कार्यलायले उनलाई पक्राउ गरी जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो।

उक्त जाहेरी परेपछि प्रहरीले जेलर घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको छ। प्रहरीले जेलर घिमिरेलाई भने पक्राउ गरिसकेको छैन। यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।

गत बुधबार बिहान खाँदबारी नगरपालिका-१ मा रहेको कारागार कार्यालय संखुवासभामा रहेका मादी नगरपालिका-५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामी अचेत अवस्थामा फेला परेका थिए। उनीहरूको उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो।

त्यहाँ उपचारको क्रममा दुबै जनाको मृत्यु भएको थियो। उनीहरू दुबै जनाले राति सवा १ बजे कारागारबाट भाग्ने प्रयास गरेका थिए।

आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटेर भाग्दै गर्दा ड्युटीमा खटिएका प्रहरीले देखेपछि कराएर सबैलाई जानकारी गराएका थिए।

प्रहरी कर्मचारीहरूले नियन्त्रणमा लिनेक्रममा उनीहरू दुबै जनामाथि कुटपिट समेत भएको प्रहरी निरीक्षक खनालले बताए। प्रहरीले उनीहरू बस्ने ब्लकमा बुझाइएको थियो। तर त्यहाँ पनि अन्य कैदीबन्दीहरूले उनीहरूमाथि कुटपिट गरेका थिए।

त्यसपछि बिहान अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो। त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन्। मृतकहरू दुबै जनाको पोष्टमर्टम सकिसकेको छ।