पिसाब फेर्ने क्रममा चिप्लिएर भेरी नदीमा एक पुरुष बेपत्ता

सुर्खेत ।

पिसाब फेर्ने क्रममा चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् ।

चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी कार्यमा अग्रसर भएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोली र चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोली खोज कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।