मनकारी र सहयोगी दिव्य विद्या सदनका बालबालिका

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ६ मा रहेको दिव्य विद्या सदनका बालबालिकाहरुले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा आफ्नै पैसाले एक दिनको खाजा र खाना खुवाएका छन् ।

सोमबार कक्षा १० मा अध्ययनरत बालबालिकाहरुले आफ्नो रकमबाट निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका बृद्ध आमाबुवाहरुलाई आफ्नै हातले खाना खुवाएका हुन् ।

बालबालिकाले असहाय, अपाङ्ग, अशक्त व्यक्तिहरुलाई सहयोग गर्ने र भावनाको विकास गर्ने उद्देश्यले कक्षा १० का बालबालिकाले कोष निर्माण गरेका छन् । उनीहरुले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले खाजा खर्च कटाएर कोषमा जम्मा गर्ने गर्छन् ।

डिविएस वलफेयर फाउन्डेशनका अध्यक्ष कक्षा १० मा अध्ययनरत सुम्रिमा बोहराले कोषबाट विद्यालयको सेवा क्षेत्र तथा बाँके जिल्ला भरी नै काम गर्ने लक्ष्य लिएको बताइन् ।

‘विद्यालयमा गठन गरेको यस कोषलाई बृहत बनाई अघि बढाउने योजना छ,’ उनले भनिन्, ‘अहिले बृद्धबृद्धा आमाबुवाहरुलाई सहयोग स्वरुप एक दिनको खाजा, खाना खुवायौं ।’

कोषको लक्ष्य भनेको असहाय, अपाङ्ग, अशक्त बालबालिकालाई सहयोग गर्ने र सामाजिक कुरिती, विसंगतीलाई अन्तर विद्यालय स्तरीय सडक नाटक जस्ता कार्यक्रमहरु गर्ने उद्देश्यले डिविएस वलफेयर फाउन्डेशन निर्माण गरिएको अध्यक्ष बोहराले बताइन् ।

बोहराका अनुसार विहान नास्ता र खाना, दिउसो खाजा र साँझ खाना खुवाएका छौं जसमा खिर, तरकारी, दाल, भात, अचार, फुलफुल, जुस जस्ता परिकारहरु निलसागरमा रहनुभएका बृद्धबृद्धा आमाबुवालाई खुवाएको बताइन् ।

डिविएस वलफेयर फाउन्डेशन कोष निर्माण गरी बालबालिकाको सहयोगी भावनाको विकास गर्ने उद्देश्यले निर्माण गरिएको दिव्य विद्या सदन विद्यालयका प्रिन्सिपल नारायण पंगेनीले बताए ।

एक दिनको खाना, खाजा खुवाउने कार्यक्रममा दिव्य विद्या सदन विद्यालयका शिक्षक गणेश रेग्मी, एकाउन्टेन्ट सिता शर्मा लगायत विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।