उपाधि होडबाट बाहिरिए नेपाल र यूएई

काठमाडौँ ।

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएका छन् । बलियो प्रतिद्वन्द्वीसँग लगातार दोस्रो हार बेहोर्दै यी दुवै टोली उपाधि होडबाट बाहिरिएका हुन् ।

नेपाल आफ्नो दोस्रो खेलमा सोमबार टेस्ट राष्ट्र भारतको ‘ए’ टोलीसँग नौ विकेटले पराजित भयो । पाकिस्तानले भने लगातार दोस्रो जित हासिल गर्ने क्रममा यूएईलाई एक सय ८४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

लगातार दोस्रो जितसँगै भारत र पाकिस्तान प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । भारत र पाकिस्तान दुबैको चार—चार अंक छ । नेपाल र यूएई हालसम्म अंकविहीन छन् । नेपालले समूहगत चरणको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै ३९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २२.१ ओभरमा केवल एक विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

भारतको एकमात्र विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले ८७ रनमा भारतका ओपनर ब्याट्सम्यान अभिषेक शर्मालाई पेभेलियन फर्काएका थिए । ब्याटिङमा पनि रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ८५ बलको सामना गरी सात चौकाको मद्दतले ६५ रन बनाएका थिए ।

नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान गुल्सन झाले पनि ३८ रनको योगदान गरेका थिए । नेपालको ब्याटिङ निकै फितलो थियो । यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग चार विकेटले पराजित हुँदा पनि नेपालको ब्याटिङ निकै कमजोर थियो ।