मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण




बैजनाथ ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत बाँकेको बैजनाथ गाउँपालिकाका १३ वटा प्रावि तहका सामुदायिक विध्यालयका प्रअहरुलाई ‘प्रअसँग प्रविधि कार्यक्रम’ का लागि एक-एक वटा ल्यापटप, तथा  विद्युतीय पठनपाठन सहजताका लागि तीन वटा विद्यालयलाई ल्यापटप, प्रोजेक्टर, प्रिन्टर र गाउँपालिकाका सबै प्रावि तहका बिपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय छोड्नबाट रोक्न विशेष छात्रवृत्तिको सामाग्रीहरु शुक्रबार हस्तान्तरण गरिएको हाे ।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत चालु खर्च तर्फका योजनाहरु सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

बैजनाथ गाउँपालिकाका प्रावि तहका १३ वटा सामुदायिक विध्यालयहरुका प्रअहरुलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

त्यस्तै सूर्योदय मावि चिसापानी, बागेश्वरी मावि गाभर र भगवती मावि हसनापुरलाई एक-एक थान ल्यापटप, प्रोजेक्टर, प्रिन्टर हस्तान्तरण गरिएको छ।

त्यसै गरी बिपन्न परिवारका बालबालिकाका लागि एक-एक वटा झोला सहित उनीहरुलाई आवश्यक पर्ने किताब, कापी, पेन्सिल जस्ता आवश्यक सामाग्रीहरु दिइएको छ ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत तिन प्रकृतिका योजनाहरुका लागि प्रदेश सरकारको २२ लाख रकमको बजेट बिनियोज गरिएको समन्वयकर्ता रावतले जानकारी गराए ।

केयक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाह, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका समन्वयकर्ता भीम रावत, बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने तथा शिक्षाखाशा प्रमुख विश्वराज ढकाल समेतले संयुक्त रुपमा विध्यालयका प्रअहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले आफ्नो मन्तव्य राख्ने क्रममा भने, “सामुदायिक विध्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय सरकारले के के गर्नु पर्ने हो, कुन कुन विषय र क्षेत्रमा के कति लगानी गर्नु पर्ने हो त्यो गर्न हामी तयार छौं ? सरहरुले पनि स्थानीय सरकारले गरेका निर्णयहरु मान्नु परयो, कार्यान्वयन गरिदिनु । शिक्षा क्षेत्र नै राम्रो योग्य जनशक्ती उत्पादन गर्ने पहिलो आधार भएकाले यसमा सबै सरहरुले इमान्दारितापूर्वक लाग्न म अनुरोध पनि गर्दछु”।

त्यस्तै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका बाँके जिल्ला समन्वयकर्ता भीम रावतले सरकारले सामुदायिक विध्यालयहरुमा लगानी गरेको तुलनामा शैक्षिक गुणस्तरमा सुधार हुन नसक्नुमा सामुदायिक विध्यालयमा अध्यापन गराउने शिक्षकहरुले आफैलाई आफै समिक्षा गर्नुपर्ने अवस्था रहेको बताए ।

रावतले भने, विद्यालयको शैक्षिक गुणस्तरको मापन त्यो विद्यालयको प्रअको क्षमता र प्रतिष्ठासँग जोडिएकाले सोही कुरालाई आत्मसाथ गरी आ-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ ।’’

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पूँजिगत तर्फका कार्यक्रमहरु भौतिक पूर्वाधारमा र चालु खर्च तर्फका योजनाहरु सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्ने विभिन्न कार्यक्रमहरुमा सञ्चालनमा रहेका छन् ।

साथै शुक्रबार नै गाउँपालिकाका सबै (३७ वटै) सामुदायिक करिब १३ लाख रकमका विद्यालयहरुमा बालबिकास कक्षा कोठा सबलिकरणका लागि कार्पेट, किताब आदि समेत विद्यालयका प्रअहरुलाई हस्तान्तरण गरिएको शिक्षा शाखाका प्रा.स. लाल बहादुर बोहोराले जानकारी गराए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिबार