बाँकेमा १५ प्रतिशतले कोरोना संक्रमण बृद्धि

काेहलपुर ।

बाँकेमा एकैदिन १५ प्रतिशतले कोरोना संक्रमण बृद्धि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल फोकल पर्सन तेजबहादुर ओलीका अनुसार बुधबार जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको १६७ नमूना परीक्षणमा १०८ जनामा संक्रमण पुष्टि भएको छ । जुन कूल परीक्षणको झन्डै ६५ (६४.६७) प्रतिशत हो ।

मंगलबार जिल्लाका तीन वटा प्रयोगशालामा १५४ जनाले स्वाब परीक्षण गराएकोमा ७७ जनामा कोरोना पुष्टि भएको थियो । जुन कूल परीक्षणको ५० प्रतिशत मात्र थियो । एकैदिनमा कोरोना पुष्टि १५ प्रतिशतले बढेको छ ।

बुधबार भेरी अस्पतालको कोरोना प्रयोगशालामा १०१ जनाको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको थियो । जुन कूल परीक्षणको झन्डै ७० प्रतिशत हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ५३ जनाको परीक्षणमा ३२ मा कोरोना पुष्टि भएको थियो । जुन ६० प्रतिशत हो । बागेश्वरी ल्यावमा १३ परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुन कूल परीक्षणको ४६ प्रतिशतभन्दा बढी हो । त्यसैगरी बुधबार सीमा नाका जमुनाहामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७१ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गराएकामध्ये ८ प्रतिशतलाई मात्र कोरोना पुष्टि भएको हो ।