भारतमा नेपालका एकै परिवारका तीन जनाको मृत्यु

भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो।

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त मुकुन्द खड्काले सेतोपाटीलाई बताए।

‘देवबहादुर मेरी ठूली आमाको छोरा दाजु पर्नुहुन्छ,’ खड्काले भने, ‘दाजु, भाउजू र उहाँको छोराको पहिरोमा परेको खबर मलाई सँगै रहेका अन्य नेपालीले दिएका हुन्।’

त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको बताए।

क्यारामा विगत तीन-चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्यक्ष खड्काले बताए।

वडाध्यक्ष खड्काका अनुसार आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए। देवबहादुर भने गत मंसिरतिर सुरूमा उत्तर प्रदेशको पौरी गएका थिए। त्यहाँबाट उनी पछिल्लो समय सिम्ला पुगेका हुन्।

भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए। तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका थिए।