राप्तीसोनारीका विद्यालय १० दिन वर्षा विदा

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले १० दिन वर्षा विदा दिएको छ । राप्तीसोनारी गाउँपालिका शिक्षा शाखाले आज सूचना जारी गर्दै असार २३ गतेबाट १० दिनसम्म पठनपाठन बन्द हुने भन्दै सूचना जारी गरेको छ ।

राप्तीसोनारीको शैक्षिक सत्र २०८० को शैक्षिक पात्रो अनुसार असार १३ गतेबाट वर्षा विदा हुने उल्लेख भएपनि यस अघि वर्षा विदाबाट कट्टी गरी १० दिन गर्मी विदा भएकोले असार २३ गतेबाट साउन ५ गतेसम्म विदा भएको शाखा अधिकृत प्रमुख जिवन न्यौपानेले बताए ।

‘१ वर्षमा ४५ दिन विदा दिने हुन्छ त्यसबाट नै कटाएर विदा दिएका छौं,’ उनले भने, ‘अब दशै र तिहारको विचमा १५ दिन बाँकी रहेको छ ।’
विद्यालयको आवश्यकता अनुसार स्थानिय विदा भनी पाँच दिन हुने शाखाका प्रमुख न्यौपानेले बताए ।