आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
त्यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी वर्षाको र तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

वर्षा र हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

त्यसकारण भारी वर्षा, मेघ–गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।