नेतासँग फोटो खिचाउँदै हिँड्ने जुठे राउत ठगी आरोपमा पक्राउ

काठमाडौँ ।

नेतासँग फोटो खिचाउँदै हिँड्ने ललितपुर घर भएका जुठे राउतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–८ घर भई शान्तिटोल बस्ने ३७ वर्षीय जुठे राउतलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो । जेठ २ ललितपुर प्रहरीले प्रभाग बालकुमारी र प्रहरी वृत कालिमाटीमा पत्राचार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले रातोपाटीलाई बताए । कार्कीले भने– ‘अहिले राउत बानेश्वर प्रहरीको हिरासतमा रहेको हामीलाई जानकारी गराएका छन् ।’

क्यानडा पठाउँछु भन्दै ठगेको आरोपमा वैदेशिक रोजगार विभागले राउतविरुद्ध मुद्दा चलाएको छ । विभागले नै राउतलाई बानेश्वर प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा राउतविरुद्ध पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको एमालेका नेता टोपबहादुर रायमाझी निकट भनेर चिनिन्छन् राउत । प्रधानमन्त्रीको सचिवालय र विभिन्न नेतासँग फोटो खिचेर उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । जनक राउतको नामबाट सामाजिक सञ्जाल चलाउने जुठेले नेतासँग निकट छु, काम गर्न सक्छु भनेर पीडितहरुलाई ठग्ने गरेको आरोप छ ।