‘परस्त्री’को हिन्दी संस्करण नेपालमा रिलिज नहुने

काठमाडौं ।

नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण नेपालमा रिलिज नहुने भएको छ । निर्देशक सुरज पाण्डेले असार १५ मा नेपालमा नेपाली संस्करण मात्र प्रदर्शन हुने जनाएका छन् । यसअघि निर्माताले उक्त मितिमा हिन्दी डब भर्सन पनि चलाउने बताएका थिए । उनीहरुले रिलिजका लागि चलचित्र विकास बोर्डसँग पनि छलफल गरेका थिए ।

चलचित्र विकास बोर्डले पनि हिन्दी डबलाई नेपाली फिल्मसरह सुविधा दिने बताइसकेको थियो । तर निर्माता हिन्दी संस्करणको रिलिजबाट पछि हटेका छन् । हिन्दी संस्करणको प्रवर्द्धनका लागि दिल्लीमा रहेका निर्देशक पाण्डेले उक्त मितिमा नेपालमा नेपाली र भारतमा हिन्दी संस्करण रिलिज हुने बताए ।

उनले नेपालमा हिन्दी डब रोकिनुको कारणबारे खुलाएनन् । यद्यपि ‘आदिपुरुष’ फिल्मले गर्दा भारतीय र हिन्दी फिल्मलाई विवाद चलिरहँदा निर्माता रिलिजका लागि हच्किएको अनुमान गर्न सकिन्छ । निर्देशक पाण्डेले यसबारे ठोस कारण खुलाएनन् । विवाहेत्तर सम्बन्धबारे बनेको यो फिल्ममा शिल्पा मास्केको शीर्ष भूमिका छ ।