र्‍यापर गिरिशसहित ३ जनालाई पक्राउको माग गर्दै रंगेली–विराटनगर सडक अवरुद्ध

विराटनगर ।

मासु व्यावसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली–विराटनगर सडक अवरुद्ध पारेका छन् ।

र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको साही दिन उपचारका क्रममा मृत्यु भएको थियो । अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ नगरेको भन्दै सोमबार आफन्त र स्थानीयले रंगेली विराटनगर सडक खण्डको कर्सिया बजार क्षेत्रमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु पुर्याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो । नर्सिङहोममा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

रहस्यमय मृत्यु प्रकरणमा पीडित किटानी जाहेरी दिँदासमेत अनुसन्धान नगरेको आफन्तको गुनासो छ । मृतक अन्सारीका भाई माजिद अन्सारीले मृत्यु भएको एकसाता वितिसक्दासमेत प्रहरीको आरोपीलाई पक्राउ नगरेको बताए । आफन्तले घटनाको निष्पक्ष छानविनका लागि सीआईबीको टोली माग गरेका छन् ।

पीडित परिवारले गिरिश खतिवडासँगै क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनाको निष्पक्ष छानविन भइरहेको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको विस्तृत विषय खुल्ने उनले बताए ।

प्रहरी स्रोतका अनुसार होटलमा लगाएको सिसामा ठोक्किँदा सिसाले मृतकको तिघ्रामा गहिरो चोट लागेको थियो । आफन्तले भने मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा होटलमा कुटपिट गरी हत्या गरेको दाबी गरिरहेका छन् ।