बैजनाथको निति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, र कृषि प्राथमिकतामा

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी वर्षको निति तथा कार्यक्रम ल्याएको छ । बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रमले नयाँ कार्यक्रमहरुसंगै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

यस्तै निति तथा कार्यक्रममा सिकलसेल एनेमिया रोकथामको लागि निःशुल्क शिविर, आकस्मिक दुर्घटना तथा बर्थिङ सेन्टरमा निःशुल्क एम्बुलेन्स सेवा, ६० वर्षमाथिका सबैलाई मासिक रुपमा स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य सेवा दिने, अति विपन्न ‘ख’ वर्गका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने लक्ष्य लिएको छ ।

वर्थिङ सेन्टरमा नियमित चेकजाँच गराई नवजात शिशु जन्मिएमा नवजात शिशुलाई २५ सय रुपैया दिइने, विद्यालयमा आयूर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका आगामी निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै बालबालिकाका गुनासा सुन्न ‘स्थानिय प्रमुख संग विद्यार्थी संवाद’, ८ वटै वडाका मावि र आविमा ‘एक वडा एक स्वास्थ्यकर्मी’, ‘पढ्दै कमाउँदै’, हप्ताको शुक्रबार ‘झोला रहित कक्षा’, ‘विद्यालय ल्याउने, टिकाउने र बिकाउने’, ‘१ वडा १ नमूना विद्यालय’ बनाउने जस्ता लोकप्रिय निति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै कृषकका लागि ‘एक किसान एक व्यवसायी खेती’, ‘एक वडा एक उत्पादन’, ‘२ वटा कृषि एम्बुलेन्स सञ्चालन’, ‘उत्पादनको आधारमा कृषकलाई प्रोत्साहान भत्ता’, ‘किसान कल सेन्टर,’ ‘एक गाउँ एक कृषि प्राविधिक,’ ‘एक वडा एक पकेट क्षेत्र’, ‘एक घर एक मौरिंगा अभियान सञ्चालन गर्ने निति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै सहकारी, पशुपन्छी र मत्स्यपालन, घरेलु तथा साना उद्योग, बाणिज्य तथा व्यापार, रोजगारी, युवा खेलकुद, पर्यटन प्रबर्धन र धर्म, संस्कृति र कला, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाह, न्यायिक, लैंगिक समानता नागरिक सामाजिक समावेशीकरण र विधायन तथा निति वित्तीय अनुशासन तथा वित्तिय क्षेत्रमा सुधार ल्याउने निति तथा कार्यक्रममा समेटिएका छन् । आगामी वर्षका लागि बजेट भने असार १० गते ४ बजे पुनः नियमित गाउँसभामा पेश हुने गाउँपालिका उपाध्यक्ष निर्मला रोकायनले बताइन् ।

उक्त नियमित गाउँ सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य आशा बिक, प्रदेश सभा सदस्य रत्न खत्री, सदस्य सचिव धर्मराज न्यौपाने लगायत कर्मचारी पत्रकार लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम सूचना अधिकारी तप्तराज आचार्यले सञ्चालन गरेका थिए ।