सप्ताहव्यापी सिर्जनात्मक लेखन र सीप कार्यशालाले बालबालिकाको साहित्यमा मोह बढ्यो

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सप्ताहव्यापी सिर्जनात्मक लेखन र सीप कार्यशालाले साहित्यमा बालबालिकाको मोह बढेको छ ।

कोहलपुर १ जन ज्ञानज्योति माविमा सोमबारदेखि सञ्चालन भएको ‘मेरो विद्यालय मेरो जिम्मेवारी’ कार्यक्रम अन्तर्गत सप्ताहव्यापी सिर्जनात्मक लेखन र सीप कार्यशालाले बालबालिकाको साहित्यमा मोह बढेको हो । सप्ताह कार्यक्रमको पहिलो दिन कविता प्रशिक्षण भएको थियो ।

कविता कार्यशालाका प्रशिक्षक वरिष्ठ कवि प्रा.डा. देवी नेपाल प्रशिक्षण दिएका थिए । प्रा.डा. नेपालले बालबालिकाहरूलाई छन्द कविता लेख्ने तौर/तरिकाहरु सिकाउँदै विद्यार्थीहरूमा कविताप्रति मोह बढ्न थालेको भन्दै खुसी व्यक्ति गरे ।

बालबालिकालाई कविता लेख्न र वाचन गर्न लगाउँदै हरेक विद्यार्थीभित्र केही न केही क्षमता हुन्छ, त्यो क्षमतालाई प्रस्फुटन गराउन निरन्तरता दिन कार्याशालाहरूको आवश्यकता रहने प्रशिक्षक प्रा.डा. नेपालले बताए ।

दोस्रो दिन चित्रकला सम्बन्धि प्रशिक्षण भएको थियो । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका कला विभाग प्रमुख कलाकार विक्रम शिशिरले बालबालिकालाई चित्रकला सम्बन्धि प्रशिक्षण दिएका थिए ।

तेस्रो दिन निबन्ध लेखन प्रशिक्षण भएको थियो । बागेश्वरी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक तथा पूर्व विभागीय प्रमुख पुष्कर रिजालले बालबालिकालाई निबन्ध सम्बन्धि प्रशिक्षण दिएका थिए ।

साथै कोहलपुर १ जन ज्ञानज्योति माविकी प्रअ सुमित्रा न्यौपानेले बालकथा लेखन सम्बन्धी प्रशिक्षण भएकी थिइन् । उनले बालकथा कसरी लेखिन्छ ? कस्ता बिषयमा बालकथा लेख्न सकिन्छ ? भनेर प्रशिक्षण प्रशिक्षण दिएका थिइन् ।

‘मेरो विद्यालय मेरो जिम्मेवारी’ कार्यक्रम अन्तर्गत सप्ताहव्यापी सिर्जनात्मक लेखन र सीप कार्यशाला कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बालबालिकाको सिर्जनात्क लेखन/सिपलाई अभिप्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको बताए ।

अभिभावक तथा शिक्षकले बालबालिकाको मनोविज्ञानलाई मध्यनजर गरी उपयुक्त सिर्जना/सिप छनोट गरी पठनपाठनको विकास हुन्छ भने पठनप्रतिको रुची बढ्छ र गुणस्तरीय शिक्षा प्रदानमा यसले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख आचार्यले बताए ।

यस्तै कोहलपुर १ जन ज्ञानज्योति माविकी प्रअ सुमित्रा न्यौपानेले सप्ताहव्यापी सिर्जनात्मक लेखन र सिप कार्यशालाले बालबालिकाको रुची बढेको बताइन् ।  ‘बालबालिकाले अहिले चित्रकलामा बढि प्रफिूलित छन्,’ उनले भनिन्, ‘क्रमशः कविता, बालकथा तथा प्रतिष्ठित व्यक्तिको जिवनी लेख्न मन पाइरहेका छन् ।’

भाषिक तह, पुस्तकको आयाम, साजसज्या, बालबालिकाको रुची र विधाभित्रको भाव र विषयबस्तु छनौट गर्न साहित्यले निकै ठुलो भूमिका खेल्ने जन ज्ञानज्योति माविकी प्रअ न्यौपानेले बताइन् ।

यस्तै कार्यक्रममा विव्यस अध्यक्ष खिमलाल शर्मा, अतिरिक्त क्रियाकलाप संयोजक विष्णुमाया भण्डारी लगायत करिब ७५ जना भन्दा बढि बालबालिकाको सहभागिता रहेको थियो ।