गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

काेहलपुर । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख प्रहरी नायव निरिक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । सिंहसँगै ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।