बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा दुई जनाको हत्या

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर–६ , मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीय अन्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

बिहीबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनीहरू दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरू माथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।

मोहन थारु र अन्जनी थारु विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको प्रहरीले बताएको छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।