‘पत्रकार महासंघको जमिनमा कसैले आँखा लगाउन पाउँदैन’ : मेयर विष्ट

नेपालगन्ज।

 नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपाल पत्रकार महासंघको जमिनमा आँखा नलगाउन सचेत गराएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कस्थित सञ्चारग्राममा रहेको महासंघको जमिनलाई स्थानीयले बलजफ्ती रुपमा कब्जा गर्न खोजेपछि उनले यस्तो बताएका हुन् ।

तत्कालिन नेपालगन्ज नगरपालिकाको सिफारिस र जिल्लास्थित प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिको निर्णयका आधारमा महासंघलाई सरकारले करिव ३ कठ्ठा जमिन उपलब्ध गराएको बताइन्छ । उक्त जमिनलाई महासंघले डेढ दशकभन्दा बढी समयदेखी संरक्षण गरेर राख्दै आएकोमा अहिले पर्खाल लगाउन खोज्दा केही स्थानीयको एक समुहले बलजफ्ती रुपमा कब्जा गर्ने प्रयास गरेपछि मेयर विष्टले सचेत गराएका हुन् ।

महासंघको जमिन बलजफ्ती रुपमा कब्जा गर्न खोज्नु कानुन विपरित हुने उनको भनाई छ । ‘सबै कानुनी प्रक्रिया पुरा गरेर पत्रकार महासंघले जमिन पाएको हो, तर महासंघको जमिनमा कसैले पनि आँखा लगाउने काम नगरोस्,’ उनले भने । पत्रकार महासंघको जमिनलाई स्थानीयले कब्जा गर्न खोजेपछि मेयर विष्ट बिहीबार दिउँसो महासंघ कार्यालय परिसरमा पुगेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले महासंघको आफ्नो जमिनमा पर्खाल लगाउन खोज्दा केही ब्यक्तीहरु आएर अवरोध गर्न खोजेको बताए । ‘उहाँहरु आवत जावत गर्नका लागि चलन चल्तीको बाटो छदैछ, तर महासंघकै जमिनमा आँखा लगाएर बाटो खोल्ने निहुँमा बलजफ्ती रुपमा जग्गा कब्जा गर्न खोजेको देखियो,’ उनले भने । महासंघको जमिन बचाउन केही दिनदेखी स्थानीयको एक समुहसँग प्रतिवाद गर्दै आएको अध्यक्ष भण्डारीको भनाई छ ।