पर्यटकीय स्थल र सम्पदा सम्बन्धी गुरूयोजना बनाउँदै कोहलपुर




कृष्ण कुमार शाही, कोहलपुर ।

कोहलपुर नगरपालिकाले पर्यटकीय स्थल र सम्पदा सम्बन्धी गुरूयोजना बनाउन लागेको छ । कोहलपुर नगरपालिकाका १५ वडाका वडाअध्यक्षहरुले पहिलो चरणमा मंगलबार वडामा भएका पर्यटकीय स्थल र सम्पदाहरूको सूचिकरण गरेका छन् ।

कुन वडामा के कस्ता सम्भाव्य पर्यटकीय स्थल र सम्पदाहरूको पहिचान, पर्यटन प्रबर्धन लागि गुरुयोजना बनाउन अन्तरक्रिया कार्यक्रम गरिएको छ । पश्चिम पर्यटन सरोकार समूहले आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा यो कार्यक्रम भएको थियो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य, उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास संयोजक ईश्वरी प्रसाद विश्वकर्मा तथा १५ वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्य लगायतको टिमले यो गुरुयोजना बनाउन पहिलो चरणमा छलफल गरेका छन् ।

अबको एक महिनासम्म प्रत्येक वडामा के कस्तो सम्भाव्य पर्यटकीय स्थल र सम्पदाहरूको पहिचान गर्ने नगर प्रमुख आचार्यले बताए । ‘अहिले मस्यौदा तयार हुँदैछ,’ ‘सो मस्यौदामा अझै बृहत छलफल पश्चात गुरुयोजना बनाउने छौं’ उनले भने ।

यस्तै पश्चिम पर्यटन सरोकार समूहका अध्यक्ष राम बहादुर मल्लले देशभरी कार्यक्षेत्र भएको यो समूहको पछिल्लो समयमा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र बनाएर पर्यटन सम्बन्धी काम गरिरहेको बताए ।

‘पर्यटन प्रबर्धनको क्षेत्रमा तत्कालिन योजना, अर्धकालिन योजना र दिर्घकालिन योजना बनाउन सहयोग गर्दछौ’, ‘त्यसको लागि कोहलपुरका पहिलो पटक यो कार्यक्रम गर्न थालेका छौं’ उनले भने ।

यस्तै पर्यटन मन्त्रालयका प्रबन्ध निर्देशक खड्क शाहले कोहलपुरमा पर्यटन सम्बन्धी पर्यटकीय स्थल र सम्पदा पहिलो चरणमा जानकारी लिनका लागि यो छलफल गरेको बताए ।

उनका अनुसार पालिकामा कुन किसिमको योजनाले दिगो पर्यटनमा टेवा पुर्‍याउँछ भन्ने विषयमा गुरुयोजना बनाउन सजिलो हुन्छ ।

‘त्यसैले यहाँहरुले आफ्नो वडामा भएका पर्यटकीय स्थल र सम्पदाहरूको बारेमा जानकारी दिनुभएको छ’, ‘सोही तथ्यांकका आधारमा मस्यौदा तयार हुनेछ’ उनले भने ।

‘सो मस्यौदामा सरोकारवाला पक्ष र कोहलपुरबासीहरुले यो विषयमा छलफल गरेपछि मात्र यो गुरुयोजनाले पूर्णता पाउनेछ,’ ‘कोहलपुर नगरपालिकामा के कस्ता पर्यटन क्षेत्रमा जनशक्ति आवश्यक पर्दछ सोही अनुसार मन्त्रालयबाट विभिन्न तालिमहरु सञ्चालन गर्नेछौं’ उनले थपे ।

कोहलपुर नगरपालिकाको पर्यटन सम्बन्धी टुरिजमका विज्ञ ठाकुर प्रसाद देवकोलाले गुरुयोजना बनाउन लागेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार