कोहलपुरका गौरवका योजना पुरा गर्न २ अर्व बढि रकम पठाउने छु : राठौर

कोहलपुर ।

कोहलपुर नगरपालिकाका गौरवका योजनाहरुलाई पुरा गर्न २ अर्ब बढि रकम पठाउने बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले बताए । सोमबार कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा बोल्दै राठौरले कोहलपुरको विकासका लागि २ अर्ब बढि रकम पठाउन पहल गर्ने बताएका हुन् ।

उनको कोहलपुरको समग्र विकासका लागि तटबन्ध, भवन, सडक, आकाशे पुल, बाल अस्पताल, रिङ्ग रोड, कभर्ड हल र नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र जस्ता विभिन्न गौरवका विभिन्न योजनाहरुलाई पुरा गर्न बजेटको व्यवस्था गर्ने राठौरले बताए ।

‘कोहलपुर नगरपालिकामा युवा मेयर र उपमेयर हुनुहुन्छ’ उनले भने, ‘उहाँहरुले विकास, शुसासन र भष्टाचार नियन्त्रण गर्ने विषयमा कसैको मतभेद भएको छैन र हुने पनि छैन ।’ यो पालिकालाई बाँकेकै उत्कृष्ट पालिका बनाउन केन्द्र र प्रदेश स्तरबाट आफ्नो पहल भइरहेको राठौरले बताए ।

राठौरले बाँके क्षेत्र ३ मा सुख्खा क्षेत्र भएकोले कृषिका लागि सिचाईको व्यवस्थापन गर्ने बजेको व्यवस्थापन गरी काम सुरु गर्ने प्रतिबद्धता गरे । ‘कोहलपुरदेखि पश्चिम फोर लेन बाटो निर्माण गर्ने र कोहलपुरदेखि सुर्खेत सम्मको फोर लेन सडक बनाउने ठुलो योजना अगाडि बढेको छ’ उनले भने फोर लेन सडकको नापजाँच सुरु भइसकेको छ ।’ अहिले कोहलपुर नगरपालिकाले सुशासन, पार्दशिकता र प्रभावकारी रुपमा सेवा विस्तार गरेको समेत राठौरले बताएका थिए ।

यस्तै बाँके क्षेत्र नं. १ (ख) का लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी, बाँके क्षेत्र नं. १ (क) का लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’, लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी र सञ्जु कुमारी चौधरी लगायतले कोहलपुरको विकासका लागि ऐक्यबद्धता वक्त गरेका थिए । कोहलपुरको विकासका लागि राजनितिक दलभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरको समृद्ध र विकासका लागि सबै कर्मचारी, राजनितिक दलका नेतृत्वहरुले समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

‘हामी निर्वाचित भएपछि कुनै पनि सार्वजनिक महत्वका विषयहरुलाई एकलौटी गरेका छौंनौ, सबै सर्वपक्षिय बैंठकमार्फत समस्याको समाधान गर्ने काम गरेका छौं,’ उनले भने, ‘तर यहाँ सर्वपक्षिय बैंठकमा गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न खोज्दा सोही निर्णयमा हस्ताक्षर गर्नुभएका राजनितिक दलका नेताबाट नै रोक्न अधिक प्रयास गर्नुहुन्छ कृपया यस्तो नगर्नुहोस्, किनकी यो कोहलपुर जनप्रतिनिधिको मात्र होइन तपाईहरुको पनि हो ।’

नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुबाट उत्कृष्ट नतिजा अपेक्षा गरिरहेका गर्दै त्यो अपेक्षा प्राप्त गरिरहेका छौ त्यसको लागि कर्मचारीहरुलाई आचार्यले बधाई समेत दिएका थिए ।

आचार्यले १५ वडालाई हेर्न दृष्टी सम्मान छ, कोही वडा अध्यक्ष ज्यूले यति चाहियो, उति चाहियो भनेर झगडा गर्नुपर्ने अवस्था नभएको बताए । ‘तथ्थांक आफै बोल्छ, ३ सय मिटर पिच नभएको बाटो जबसम्म ४ सय मिटर पुग्दैन तब सम्म ५ सय मिटर पुगेको वडा अगाडि बढ्दैन,’ उनले भने ‘हामीले निति यसरी बनाउँछौं ।’ १५ वटै वडाका कोहलपुर बासीहरुलाई फरक निति लिएर अगाडि बढन सक्दैनौ ।’

कोहलपुरका राजनितिक दल, बुद्धिजिवीको सहयोगको अपेक्षा गर्दै रचनात्मक सुझाव दिन सक्नुहुन्छ उनले थपे, काँही कतै गल्ती भएको भए त्यसलाई नदोहोरिने गरी काम गर्ने छौं । तर सस्तो लोकपियताका निम्ती नक्कली फेसबुक आइडी खोलेर, साइबर स्याल भएर दिने धम्कीले केही फरक नपार्ने नगर प्रमुख आचार्यले बताए ।

४ जना पत्रकार सम्मान

कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा ४ जना पत्रकार सम्मान भएका छन् । कोहलपुर नगरपालिकाले यस क्षेत्रमा सत्य, तथ्य, निष्पक्ष तथा खोजमुलक पत्रकारीता एवम् नागरिक सचेतना अभिबृद्धि क्षेत्रमा कलम चलाएको भन्दै उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।

सम्मान हुनेहरुमा कोहलपुर टुडेका डिल्ली शाही, मिसन टुडेका शुभाकर विश्वर्मा, साहारा टिभि खबरका हिमांसु शाही र समयपाटीका सर्जन आरसी रहेका छन् ।

जसमा डिल्ली शाहीलाई १ लाख, शुभाकर विश्वकर्मालाई ५० हजार र हिमांसु शाहीलाई २५ हजार नगद पुरस्कार सहिद नगद सम्मान गरेको थियो । डिल्ली शाही नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य हुन् ।

दौडमा त्रिभुवन र बाल विद्या मन्दिर प्रथम

बाँकेको कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा गरिएको दौड प्रतियोगितामा त्रिभुवन मावि र बाल विद्या मन्दिर स्कुल प्रथम भएका छन् ।

छात्रा दौड प्रतियोगितामा त्रिभुवन माविमा अध्ययनरत दिपशिखा शाही प्रथम, कृष्ण माविमा अध्ययनरत स्वस्तिका शाही द्धितीय, कोहलपुर बागेश्वरीमा अध्ययनरत पार्वति बुढा तृतीय र सानिङ्ग स्टारमा अध्ययनरत यमुना सुनार सानत्वना भएकी छिन् ।

यस्तै छात्र दौड प्रतियोगितामा बालविद्या मन्दिर स्कुलमा अध्ययनरत अतुल गौडिया प्रथम, त्रिभुवन नमूना माविमा अध्ययनरत निराजन शाही द्धितीय, गोर्खा यूनाइटेडमा अध्ययनरत आरमुङ्ग थापा तृतीय र राम माविमा अध्ययनरत जिवन सुनार सानत्वना भएका थिए ।

छात्रा दौड प्रतियोगितामा गौल्छदेखि नगरपालिकाको गेटसम्म ३ किलोमिटर र छात्र दौड प्रतियोगितामा हवल्दारपुरदेखि नगरपालिकाको गेटसम्म ५ किलोमिटर दौड भएको थियो ।

खेलकुद प्रतियोगिताको मुख्य मुल्यांकनकर्ता मोहन वली, सह मुल्यांकन कर्ता टिकाराम आचार्य र कोहलपुर खेलकुद परिषदका अध्यक्ष बुद्धि थापा संयोजक रहेका थिए ।

सबैभन्दा बढी कर बुझाउनेलाई सम्मानित

बाँकेको कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजलाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ ।

सबैभन्दा बढी कर बुझाउने संस्था मध्येबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजलाई सम्मानित गरिएको हो । लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजले एक वर्षमा २२ लाख १८ हजार १२ रुपैयाँ कर बुझाएको हो ।

१०औ स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक संस्था, सहकारी, वित्तिय संस्था तथा अन्य विभिन्न सघसस्थाहरुले आफ्नो व्यानर सहित झाकीमा सहभागि भएका थिए भने साँस्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे । कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, १५ वटै वडाहरु अध्यक्ष तथा विभिन्न राजनितिक दलहरूका नेताहरुको सहभागिता रहेको थियो ।