प्रभावकारी बन्दै सिकलसेल तथा थालेसेमियाको अभियान

अहिले दैनिक नगरपालिकामा १५ देखि २० जना रगत परिक्षण गर्न आउन थाले : सिकलसेल तथा थालेसेमियाका ल्याब प्रमुख शिव गौतम

डिल्ली शाही, कोहलपुर ।

कोहलपुर नगरपालिका ७ का कृष्ण थारु । उनले सिकलसेल बारे जानकारी पाएका थिएनन् । उनले एक दिने सिकलसेल अभिमूखिकरण कार्यक्रममा सहभागि भए । सहभागि पश्चात उनले परिक्षण गरेपछि उनको अहिले रातो कार्ड छ । थारुले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, ‘सिकलसेल बारे मलाई जानकारी थिएन, थाहा पाएको भए यति ठुलो रकम खर्च हुने थिएन ।’ ‘शरिरका जोर्नी मांसपेसी दुख्नु, थकान महशुस हुने जस्ता समस्या छ, सोही समस्याको निराकरणका लागि धेरै औषधी गरे । नसा सम्बन्धीको लामोसमयदेखि औषधी उपचार पनि गरे । करिब ५ देखि १० लाखसम्म खर्च गरे तर निको भएन ।

‘अहिले अभियानमा आएका डाक्टरसावले भनेपछि थाहा भयो, हाम्रो विवाह गर्दा रातोले रातोंसंग, रातोले पहेलोसंग, पहेलोले पहेलोसंग विवाह गर्दा यो समस्या आउँदो रहेछ,’ उनले भने, ‘अब विवाह गर्दा कार्ड हेरेर मात्र गर्नुपर्छ चेतना भयाे । अब हरियोले दुबै रातो वा पहेलोसंग विवाह गर्नुपर्दो रहेछ ।’ यो अभियान सञ्चालन गर्ने जनप्रतिनिधिलाई धन्यवाद दिँदै अब बालबालिकाको कार्ड हरेर मात्र विवाह गर्ने प्रतिबद्धता गरे ।

यस्तै कोहलपुर नगरपालिका ६ कै का कमरुनी थरुनीले शरिरमा ठाउ, हातखुट्टा तथा नसाहरुमा दुखाइएको महशुस हुन लागेको वर्षौ भयो । औषधी उपचार पनि गरे तर निको भएन । अझै पनि औषधी सेवन गरिरहेकी छु । उनले कोहलपुर टुडेसंगको कुराकानीमा भनीन्, अब मेरो उपचार कहाँ गर्ने ? उनले प्रश्न गरिन् । यि त प्रतिनिधि मुलक पात्र हुन् । यस्तै थारु समुदायका मानिरहरुले सिकलसेल तथा थालेसेमियाको अभिमुखीकरण कार्यक्रम गरेपश्चात मात्र जानकारी पाएका धेरै छन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले सिकलसेल तथा थालेसेमियाको रोगको न्यूनिकरण गर्नका लागि अभियान सञ्चालन गरेको बताए । यो अभियानलाई सबैको सहभागितामा सफल बनाउनु पर्छ । यो अभियान आफ्नो लागि भनी सबै थारु समूदाय तथा अन्य जातिका व्यक्तिहरुलाई सिकलसेल तथा थालेसेमियाको टेष्ट गरी आफ्नो कार्ड लिन नगरपालिकाको स्वास्थ्य शाखाको उपशाखा सिकलसेल ल्याबमा आउन समेत अनुरोध गरे ।

यस्तै नगरपालिका उपप्रमुख संगिता सुवेदीले आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा गरि दिने बताइकी छिन् । ‘आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका रोगीको निःशुल्क स्वास्थ्य बीमा नगरपालिकाले गर्छ,’ सुवेदीले भनिन्, ‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका प्रतिबद्ध छ ।’ नेपाल सरकारले अहिले सिकलसेलका रोगीलाई उपचार खर्च वाफत एक लाख रुपैयाँ दिने गरेको छ । सिकलसेलका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ रकम समेत अपुग हुने भएकोले नगरपालिकाले सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा गरि दिने उपप्रमुख संगिता सुवेदीले बताइन् ।

यस्तै सिकलसेल तथा थालेसेमियाका ल्याब प्रमुख शिव गौतमले हालसम्म नगरपालिकामा करिब ११ हजार भन्दा बढि नमूना रगत परिक्षण गरेको बताए । जसमध्ये सिकसेल रोगी ९५ जना, बहाक रोगी १ हजार बढि जना र थालेसेसियाका रोगी १ सय ५० जना रहेको सिकलसेल तथा थालेसेमियाका ल्याब प्रमुख गौतमले बताए ।

अहिले दैनिक नगरपालिकामा १५ देखि २० जना रगत परिक्षण गर्न आउन थालेका छन् । कोहलपुरमा २२ हजार भन्दा बढिको संख्यामा थारु समुदाय रहेको छ । अहिले प्रत्येक वडाहरुमा वडा अध्यक्षको सभापतित्वमा यो अभियान सञ्चालन भइरहेको छ ।

सिकलसेल तथा थालेसेमियाका बारेमा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिलसेल विज्ञ डा. राजन पाण्डेले र कन्सलटेन्ट फिजिसियन डा. राजेश कुमार मण्डलले प्रशिक्षक दिइरहेका छन् ।