कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ समापन

कोहलपुर ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका तेह्र विगाहमा ४ दिनेदेखि सुरु भएको ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ आज समापन गरिएको छ ।

बाँकेमा २८ वर्षपछि आयोजना भएको ४ दिने ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ आज सम्पन्न भएको हो । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा सञ्चालन भएको ‘डी’ लाइसेन्सको उक्त कोचिङ्ग कोर्षको समापन गरिएको हो ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्कीले तालिम लिनुभएका सबैले आफुले सिकेका सिप, क्षमता र दक्षतालाई व्यवहारमा उर्तान अनुरोध गर्दै स—साना बालबालिकाहरुलाई समेत सिकाउनु पर्नेमा जोड दिएकी थिइन् ।

समापन कार्यक्रमका सभापति कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले खेलकुद हवका रुपमा विकास गर्ने संकल्पका साथ अगाडी बढेको बताए ।

आचार्यले खेलकुदका लागि मेयर कप, उपप्रमुख कप, क्रिसा, एन प्याब्सन र प्याब्सन लगायतले विभिन्न समयमा विभिन्न विद्यामा खेलकुदहरु भइरहेको र नगरपालिकाले आर्थिक सहयोग संगसंगै खेलकुदका सामग्रीहरु समेत वितरण गर्दै आएको स्मरण गराउँदै स्थानिय खेलाडीहरुलाई राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको बताए । कोहलपुर नगरपालिकाले खेल्नुपर्ने भूमिकामा काँकीकतै कमी नहुने आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागीता रहेको रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

कोचिङ्ग कोर्षलाई एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का र एन्फाका हेड अफ कोच डाइरेक्टर सञ्जित सिंहले प्रशिक्षण दिएका थिए । कोहलपुर नगरपालिका प्रमुख आचार्य र जिल्ला समन्वय समितिका उपप्रमुख कार्कीले प्रशिक्षकहरुलाई मायाको चिनो दिएका थिए ।