जमुनाहा नाकामा २७ नयाँ संक्रमित फेला

काेहलपुर ।

नेपाल भारत सिमानाका जमुनाहामा २७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार बुधबार १९ जना पुरुष र ८ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कुल ३ सय २८ जनाको कोरोना परिक्षण गरिएको थियो । त्यसमध्ये २ सय ८७ जना पुरुष र ४१ जना महिला रहेका थिए । यस्तै नेपालगन्जस्थित बाल मन्दिर आइसोलेशन सेन्टरमा बुधबारसम्म ११ जना पुरुष र ६ जना महिला गरी १७ जना रहेका छन् । यि सबै बाहिरी जिल्लाका रहेको फोकल पर्सन ओलीले बताए ।

कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ । प्रशासनले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्न लगायत कार्यमा रोक लगाएको हो ।