काेहलपुरमा मुस्लिम महिलाहरूलाई सिलाईकटाई तालिम

काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिका-९ झन्डहवामा तीन महिने मुस्लिम समुदायका महिलाहरूलाई सिलाईकटाई तालिम दिन थालिएकाे छ । नगरपालिकाले लक्षित कार्यक्रम अन्तर्गत मुस्लिम समुदायका  २० महिलाहरूलाई सिलाईकटाई तालिम दिन थालिएकाे हाे ।

फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकीको सभापति तथा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीकाे प्रमुख अतिथिमा सिलाईकटाई तालिम सुरू गरिएकाे हाे । तीन महिने तालिमका प्रशिक्षकमा ओकी कुमारी आलय रहेका छन् ।

कोहलपुर नगरपालिकाको २ लाखकाे सहयोगमा फातिमा फाउन्डेसन नेपालको आयोजनामा तीन महिने तालिम सुरु भएको कोहलपुर नगरपालिकाका आर्थिक समिति संयोजक अनिता कुमारी बुढाक्षेत्रीले बताइन् ।

मुस्लिम समुदायका महिलालाई सीपमूलक तालिम प्रदान गरेर उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्य तालिम दिन थालिएकाे आर्थिक समिति संयोजक बुढाक्षेत्री बताइन् । बुढाक्षेत्रीले तालिमपछि व्यवसायीक रूपमा लाग्नुपर्नेमा जाेड दिएकी थिइन् ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले तालिम प्राप्त गरी सीपलाई व्यवसायीकरण गराउन सकेमात्र उपलब्धि हुने बताइन् । याे बेसिक तालिम हाे याे सकिएपछि एडभान्स बनाउने तथा मेसिन समेत नगरपालिकाले प्रदान गर्ने नगर उप प्रमुख सुवेदीले बताइकी थिइन् ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा अधिकृत सुशीला थापा, फातिमा फाउन्डेसनका बोर्ड सदस्य गंगा वली रहेकी थिइन् ।