कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सक्रिय नगर युवा र बाल क्लबले संयूक्त रुपमा प्रथम स्मारिका सार्वजनिक गरेको छ । बिहिबार नगर युवा क्लबका अध्यक्ष रमेश वरको अध्यक्षतामा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि ईश्वरी प्रसाद विश्वकर्मा रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि विश्वकर्मा, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, महिला तथा बालबालिका शाखाकी घटना शाह लगायतले प्रथम स्मारिका सार्वजनिक गरेका हुन् । स्मारिकामा नगर युवा क्लब र बाल क्लबले गरेका विभिन्न ३८ वटा क्रियाकलापलाई समेटी तयार गरिएको छ ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक विश्वकर्माले बालबालिकाले गरेका गतिविधिमा पालिका सधै सकारात्मक भएको बताएका थिए । ‘नगरका युवा तथा बाल क्लबहरुले गरेका गतिविधि निकै स्राहनीय छन, त्यसकारणले अझै सशक्त हुन जरुरी छ,’ उनले भने, ‘लागुऔषध, अनैतिक क्रियाकलाप जस्ता विभिन्न विकृतीमा युवाहरुले आफ्नो समय व्यतित् गरिरहेका छन् ।’ यि व्यक्तिहरुलाई सकारात्मक बाटोमा हिड्न यस युवा तथा बाल क्लबले काम गर्नेछ भन्ने विश्वास लिएको विश्वकर्माले बताए ।
यस्तै नगर युवा क्लबका अध्यक्ष रमेश वरले आगामी दिनहरुमा अझै उत्कृष्ट काम गरी दोस्रो स्मारिका समेत प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिका, कार्यसमिति र अन्य सरोकारवाला व्यक्ति तथा संघसंस्थाहरुलाई प्रथम स्मारिका प्रकाशनमा सहयोग भूमिका रहेका सबैलाई हार्दिक धन्यवाद समेत व्यक्त गरे ।
काेहलपुर टुडे । ७ बैशाख २०८०, बिहीबार २२:२१