बाँकेमा ४ करोड बढीको सुनको गहनासहित दुई जना पक्राउ

काेहलपुर ।

नेपालगञ्जको न्युरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत सुनका गहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । सुनका विभिन्न गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका ३६ बर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले पत्रकार सम्मेलन गरि जानकारी गराए ।

साथै उनिहरुको साथमा इस्तमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको इस्टमेट विलहरु थन १४, एनआइसी एसिया बैंकमा ७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार बरामद गरिएको एसपी राठोरले बताए ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधवार राती गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्नेबारे अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।