सुडानमा लडाइँ जारी, ५० भन्दा धेरै सर्वसाधारण मारिए, ६०० जना घाइते

काठमाडौं ।

सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ) बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै सर्वसाधारण मारिएको र ६०० जना घाइते भएको बीबीसीले जनाएको छ ।

राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । यो लडाइँमा १७ सर्वसाधारणसहित २५ जनाको मृत्यु भएको छ । अन्य डार्फर क्षेत्र लगायतमा पनि लडाइँ जारी छ ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले त्यसलाई अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सुडानमा गृहयुद्धको जस्तो अवस्था छ । स्थिति बिग्रिंदै गएपछि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन् । केही विमानस्थलमा आगलागी भएको छ । शहरका घर-घरमा गोली चलेको र विष्फोटको आवाज सुनिएको छ ।

देशमा प्यारामिलिट्री र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई सेनामा समायोजन गर्नुपर्ने माग सम्बन्धी विवाद नै लडाइँको कारण हो । यो माग सेनाले अस्वीकार गर्दै आएको छ ।

अक्टोबर २०२१ को विऽोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ ।

परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ ।

सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले यो समयलाई १० वर्षसम्म राख्न चाहेको छ ।

यही विवादका क्रममा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो ।

प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न आफू तयार रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।