नेपालगञ्ज ।
नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा क्षमताभन्दा तेब्बर बढि कैदीबन्दीलाई राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानव अधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि क्षमताभन्दा दाेब्बर कैदीबन्दी राखिएको पाइएको हो ।
३ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका कारणले करिब तेब्बर बढी ८ सय ३९ जना कैदीबन्दीलाई राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताए । उनले बढ्दो गर्मीमा पनि यसरी क्षमताभन्दा तेब्बर बढि कैदीबन्दीलाई राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको बताए ।
अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकमा पुरुष कैदीबन्दी मात्रैलाई राखिएकोमा ब्लक ‘ए’ मा छ सय १७ जना र ब्लक ‘बि’ मा दुई सय ३२ कैदीबन्दी राखिएको छ ।
अधिकारकर्मीसमक्ष कैदीबन्दीले क्षमताभन्दा धेरै बढी बस्नुपर्दा कष्टकर दैनिकी व्यतित गर्नुपरेको, छालासम्बन्धी रोग देखिने गरेको र बिजुलीको कम भोल्टेजको समस्या हुने लगायतका गुनासो गरेको मानवअधिकार एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता गौतमले बताए ।
नेपालगञ्जमा रहेकाे कारागारमा क्षमताभन्दा तेब्बर बढि कैदीबन्दीलाई राखिएको छ तर तीन हजार कैदीबन्दी राख्ने क्षमतासहितको सुविधासम्पन्न क्षेत्रीय कारागार बाँकेको नौबस्तामा ९ बिगाहाको क्षेत्रफलमा निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।
कारागारका जेलर अर्जुनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकी दिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा तीन हजार क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको बताए । उनले सो क्षेत्रीय कारागार सञ्चालनमा आएपछि ठाउँ अभावको समस्या आफै समाधान हुने पनि बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्