Kohalpur Today Header Ads

कोहलपुरमा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविरबाट ७२ जना महिला लाभान्वित




कोहलपुर ।

कोहलपुर नगरपालिका-७ आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा ७२ जना महिलाले सेवा लिएका छन् ।

स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा सहजता ल्याउने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सेवा लिएकामध्ये केही महिलामा अब्स्ट्रेटिक फिस्टुलाको समेत समस्या देखिएको पाइएको शाखाका नर्सिङ फोकल पर्सन लोकमाया भारतीले जानकारी दिए ।

LIfe Ok

उनका अनुसार एक जना महिलाको भने पाठेघरकै शल्यक्रिया गर्नुपर्ने भएकाले रिफर गरिएको छ । पाठेघर मुखको क्यान्सर, अब्स्ट्रेटिक फिस्टुला, स्तन क्यान्सर लगायतको निःशुल्क पहिचान गर्ने, सम्भव हुने केशमा प्रारम्भिक उपचार गर्ने तथा जटिल खालको समस्या देखिए शल्यक्रियाका लागि रिफर गर्ने गरी स्वास्थ्य शाखाले वडास्तरमा शिविर सुरु गरेको स्वास्थ्य शाखाका जनस्वास्थ अधिकृत अनिलसेन ठकुरीले जानकारी दिए ।

स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको पहिलो दिनको शिविरको कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी, मेडिकल कलेज कोहलपुरमा कार्यरत बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.दुर्गा बिसी र वडा अध्यक्ष ठग्गा थारुले ३८ वर्षीया शान्ति बोहोरा र ६० वर्षीया जयकला सुनारलाई पर्चा हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सुवेदीले अस्पतालका पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन घरदैलोमा शिविर गरिएको जानकारी दिईन । उनले कुनै पनि महिलाहरु रोग लुकाएर पीडादायिक जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको भन्दै महिलामा जटिल समस्याको रुपमा रहेको पाठेघर, स्तन क्यान्सरजस्ता रोगको समयमै पहिचान गरि उपचारमा सहजता ल्याउन शिविरले ठूलो भूमिका निर्वाह गर्ने बताईन ।

यस्तै वडाअध्यक्ष ठग्गा थारुले पनि उपचारको पहुँच भन्दा बाहिर रहेका महिलाहरुले आफ्नै घरआँगनमा सेवा पाउनु सुखद कुरा भएको बताए । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. दुर्गा विसीले यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने बताए ।

महिलाहरु लाज र डरका कारण पाठेघर समस्याबारे खुल्न चाहदैनन् । तर जटिल भइसकेपछि उपचारका लागि अस्पताल पुग्दा उनीहरुको ज्यानै जोखिममा पर्ने गरेको छ । त्यसैले महिलाले पाठेघरको समयमै चेकजाँच गर्न जरुरी रहेको डा. बिसीको भनाइ छ । यस्तै शिविर भोलि शुक्रबार कोहलपुर-१२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शाखा प्रमुख ठकुरीले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २३ गते बिहीबार