Kohalpur Today Header Ads

४ लाख ८५ हजारले एसईई दिँदै




काठमाडौं ।

शुक्रबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को तथ्यांक अनुसार ३८ जनाले मात्रै छात्राको संख्या बढी देखिएको छ । कार्यालयको अनुसार ४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या दुई लाख ४२ हजार ७१२ र छात्रको संख्या दुई लाख ४२ हजार ६७४ रहेको छ ।

LIfe Ok

शुक्रबार दुई हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरू हुनेछ । कार्यालयका अनुसार कुल परीक्षार्थीहरुमध्ये प्राविधिक धारसमेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना सहभागी हुनेछन् ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रहरुमा खटिनेछन् ।

परीक्षालाई व्यवस्थित, मर्यादिन, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरुबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायतका जनशक्तिलाई अभिमुखीकरण गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

साथै प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरु नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउने तयारी भइसकेको जनाएका छन् ।

नियन्त्रक श्रेष्ठले सबै परीक्षार्थीहरुलाई बिना डरत्रास उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुन अपिल गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार