कोहलपुरमा मेलमिलाप सम्वन्धि आठ दिवसीय आधारभूत तालिम

कोहलपुर ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले मेलमिलाप विवाद समाधानको सबैभन्दा उपयोगी विधि भएको बताएका छन् । कोहलपुर नगरपालिका न्यायिक समितिको आयोजना तथा नेपाल महिला न्यायाधीश मञ्चको सहजीकरणमा आजदेखि कोहलपुरमा सुरु भएको मेलमिलाप सम्वन्धि आठ दिवसीय ४८ घण्टे आधारभूत तालिम उद्घाटन शत्रमा बोल्दै न्यायाधीश ज्ञवालीले दुवै पक्षबीच जित-जितको माध्यमबाट मुद्दाको किनारा लगाइने भएकाले मेलमिलाप विवाद समाधानको उपयोगी विधि भएको बताएका हुन् ।

उनले अदालतबाट हुने न्याय निरुपण एउटाले जित्ने र अर्कोले हार्ने हुने भएपनि मेलमिलापको विधि भने दुवैका लागि जित जित हुने बताए । उनले मेलामिलापका माध्यमबाट विवाद समाधान गर्ने काम न्यायका सवालमा सबैभन्दा पूण्य काम भएको पनि बताए । न्यायालयमा आफ्नो अनुभवका आधारमा विवाद समाधानमा मेलमिलापको विधि सबैभन्दा दीर्घकालीन र उपयोगी भएको पाएको पनि उनको भनाई थियो । पछिल्लो समय संसारभरी न्याय निरुपणमा अहिले मेलमिलाप विधिको अभ्यास भइरहेको पनि न्यायाधीश ज्ञवालीको भनाई छ ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक संगिता सुवेदीले संबिधानले व्यवस्था गरे अनुसार आफूहरुले स्थानीय स्तरका विवादहरु मेलमिलापका माध्यमबाट टुंग्याउने गरिएको जानकारी दिए । मेलमिलाप सम्वन्धि आठ दिवसीय आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने पनि उनको भनाई छ । वडामा आएका विवादहरु सकेसम्म वडामै समाधान होस् भन्ने हेतुले मेलमिलापकर्ताहरुलाई तालिम दिन लागिएको पनि उनको भनाई छ । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको न्याय सम्पादनमा सहजता ल्याउन तालिम आयोजना गरिएको जानकारी दिए । उनले यो तालिमपछि सबै वडामा मेलमिलापकर्ताहरु नियुक्त गरिने जानकारी दिए । ८ दिनसम्म चल्ने तालिममा १५ वडाबाट २/२ जना सहभागी छन् । नेपाल महिला न्यायाधीश मञ्चका सहजकर्ता सीता अधिकारी र देवीराम भण्डारीले सहजीकरण गरिरहेका छन् ।