निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ८ सय बढीले सेवा लिए




कोहलपुर ।

बाँकेकाे कोहलपुर नगरपालिका-१५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चौधरियामा भएको एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ८ सय बढीले सेवा लिएका छन् ।

शनिबार कोहलपुर नगरपालिका आयुर्वेद औषधालयको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको समन्वयमा भएको शिविरमा ५ सय २५ जनाले ओपिडी सेवा लिएको कोहलपुर नगरपालिका आयुर्वेद औषधालय प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ३२ जनाले पंचकर्म सेवा, ५३ जनाले उपचारात्मक सेवा, १२ जनाले स्तनपायी सेवा, ११४ जनाले जेष्ठ नागरिक सेवा लिएको पनि श्रेष्ठले बताए । तीमध्ये एक सय जना स्थानीयको सुगर परीक्षण समेत गरिएको थियो ।

समस्या देखिएका विरामीलाई औषधि समेत वितरण गरिएको थियो । आयुर्वेद चिकित्सकहरु डा.शिवराज सुवेदी, डा.प्रतिक्षा केसी, डा.गीता रेग्मी लगायतले चेकजाँच तथा परामर्श सेवा दिए ।

कोहलपुर नगरपालिका १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएकाे थियाे भने कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए। त्यसअवसरमा उनले स्वस्थ शरीरका लागि नियमित ब्यायम तथा आफ्नो जीवनशैली परिवर्तन गर्न सुझाव दिए ।

यस्तै नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका संचालक मैकुलाल बाल्मिकीले आयुर्वेदिक उपचार पद्धतिप्रतिको भरोसा बढाउन जरुरी रहेको बताए । उनले कोहलपुरमा आयुर्वेद अस्पताल स्थापनाका लागि आफुहरु तयार रहेको बताउँदै त्यसका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्न आग्रह समेत गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार