शिव शक्ति आविको ४ कोठेको भवन उद्घाटन र चमेनाह गृहको शिलान्यास (फाेटाे फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको शिव शक्ति आधारभूत विद्यालयको ४ कोठे भवनको उद्घाटन र चमेनाह गृहको शिलान्यास भएको छ । आज कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण आचार्यले ४ कोठे भवनको उद्घाटन र चमेनाह गृहको शिलान्यास गरेका हुन् । विद्यालयका शिक्षक रूकमेडी बस्यालले स्वागत मन्तव्य राखेकी थिइन् ।

उद्घाटन गर्दै आचार्यले कोहलपुरमा शैक्षिक हव बनाउने संकल्पका साथ अगाडि बढेको बताए । ‘कोहलपुरमा ३० वटा सामुदायिक विद्यालयहरुमध्ये १५ वटा विद्यालयहरुमा ४ कोठे भवनहरु निर्माण हुने क्रममा छन् भने कतिपय निर्माण भइसकेका छन् ।’ उनले भने, ‘निति तथा कार्यक्रममा नै शिक्षा क्षेत्रमा कुल बजेटको ११ प्रतिशतले बजेट विनियोजन गरी काम अघि बढिरहेको छ ।’

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने, अभिभावकको भरोसा जित्न, बालकालिकाहरुलाई निरन्तर विद्यालयसम्म आउन, नियमिट पठनपाठन गर्ने जस्ता अभियानहरु सञ्चालन गर्ने त्रिपक्षीय सम्बन्ध बलियो हुन जरुरी रहेको नगर प्रमुख आचार्यले बताए ।

सामुदायिक विद्यालयमा प्रभावकारी र गुणस्तिरीय शिक्षा प्रदान गर्न शिक्षकले मात्र पठाएर केही हुँदैन, त्यसमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालयमा ६ घण्टासम्म बालबालिका विद्यालयमा हुन्छन् तर १८ घण्टा अभिभावकसंग नै हुन्छन् ।’ कोहलपुर नगरपालिकाको शैक्षिक हव बनाउने संकल्प र योजनालाई पूरा गराउने जिम्मा सम्पूर्ण अभिभावक रहेको नगर प्रमुख आचार्यले बताए ।

विद्यालयमा कक्षा कोठामा शिक्षक छ की छैन ? नियमित अध्यापन गर्छ की गर्दैन ? यावत कुराहरुलाई अभिभावकले सम्बन्धीत विद्यालय प्रशासन, नगर शिक्षा शाखाको कार्यालय तथा स्वम् नगर प्रमुखलाई समेत जानकारी गराए मात्र काम कारवाही अगाडि बढाउने जिकिर गरे ।

यस्तै विद्यालयका प्राधानाध्यापक बद्रिनाथ सापकोटाले विद्यालयको कार्ययोजना तथा कार्य सम्पादन प्रगति प्रतिवेदन २०७९ प्रस्तुत गरेका थिए । ४ कोठे भवन बनाउन संघिय सरकारबाट ४१ लाख ३० हजार र कोहलपुर नगरपालिकाको १६ लाख ७० हजार गरि जम्मा ५८ लाख रकममा ४ कोठे भवन र २ सय ५० मिटर पर्खाल समेत निर्माण भएको विद्यालयका प्रअ सापकोटाले बताए ।

सापकोटाका अनुसार चमेनाह गृह निर्माणका लागि वडा नं २ बाट २ लाख ५० हजार र नगरपालिकाबाट २ लाख ५० हजार रकम उपलब्ध भएको छ । चमेनाह गृहको निर्माणका लागि ९४ हजार ४ सय २५ रूपैया रकमको जाश्रमदान हुने सापकोटाले बताए । सापकोटाको प्रतिवेदनमा आगामी योजनामा ५ वर्षमा टिनको छानो मुक्त बनाउने, पुस्तकालय विज्ञान प्रयोगशाला व्यवस्थापन गर्ने, स्वदेशमै उत्पादित वस्तुबाट मात्र बनेको वस्तु कपडा पोषाक निर्धारण गरि लागू गर्ने लगायत २७ वटा बँदाहरू प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा विद्यालयले सल्लाहकार कोहलपुर नगरपालिका-२ का पूर्व वडा अध्यक्ष कर्णसिंह विसी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, पुर्व विद्यालयका विव्यस अध्यक्ष झुपलाल सुनारलाई सम्मान गरेको थियो । यस्तै शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाअधिकारी, पत्रकार र शिक्षकलाई समेत सम्मान गरेको थियो।

यस्तै विव्यस अध्यक्ष विरेन्द्र कुमार बस्नेत, सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायत, रेडक्रस सोसाईटी कोहलपुर शाखाका सभापति दिनेश सिग्देल, कोहलपुर सामुदायिक सेवा केन्द्रका अध्यक्ष यम बहादुर गैरे, राष्ट्रिय परीक्षा बोर्ड लेखाका लेखा अधिकृत प्रकाश सिग्देललाई मायाको चिनो प्रदान गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २६ गते शुक्रबार