सुर्खेतमा फलामे पिङबाट खसेर एक महिलाको मृत्यु, दुई घाइते

सुर्खेत ।

सुर्खेतमा होटलको फलामे पिङबाट खसेर एक महिलाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित जिरो ड्याम नजिक रहेको काँक्रेबिहार फनपार्क एन्ड रिसोर्ट प्रालिको फलामे पिङबाट खसेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेकी छन्। उनी केही दिनअघि सुर्खेत आफन्तकहाँ आएकी थिइन्।

प्रहरीका अनुसार उनीसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका छन्। ‘तीन जना सँगै बसेर पिङ खेल्न लागेका रहेछन्, डोरी चुँडिएपछि दुई जना घाइते छन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले भने।

डिएसपी शाहीका अनुसार घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीय छोरा छन्।

उनीहरूको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ। बुधबार दिउँसो ५ बजे यो घटना भएको हो। सुनारलाई सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी शाहीले जानकारी दिए।