प्रदेश १ सरकार नछाड्ने राप्रपाको निर्णय

विराटनगर ।

राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो ।

प्रदेश १ मा विशिष्ट परिस्थीति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको राप्रपा प्रदेश १ अध्यक्ष राम थापाले बताए ।

‘प्रदेश १ को परिस्थिति विशिष्ट किसिमको छ, अर्काे निर्णय नभएसम्म सरकार छाड्दैनौं,’ उनले भने, ‘अर्काे परिस्थिति बन्यो भने निर्णय हुन्छ ।’ वर्तमान अवस्थामा सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले राजीनामा नदिने उनले बताए ।

प्रदेश सरकारमा राप्रपाबाट भक्ती सिटौला मन्त्री बनेका छन् । सिटौला प्रदेश र केन्द्रीय नेतृत्वले आफूलाई तत्काल सरकार नछाड्न भनेको बताउँछन् ।

‘पार्टीको प्रेस नोट पढेपछि म राजीनामा दिने तयारीमा थिए, तर केन्द्रीय अध्यक्षसँग प्रदेशको परिस्थितिको विषयमा छलफल भयो,’ उनले भने, ‘उहाँले पनि पर्खाै भन्नु भएको छ ।’ प्रदेश समितिको बैठकले पनि तत्काल सरकार नछाड्ने निर्णय गरेको उनले बताए ।