टर्कीमा फेरि ५.६ म्याग्निच्युडको भूकम्प गयाे

अनकारा ।

विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सोमबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन् । हालसम्म मानवीय क्षतिको भने खबर प्राप्त भएको छैन ।

सोमबारको भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलयोर्ट रहेको थियो । सो क्षेत्रका मेयरले भूकम्पपछि केही भवनहरू ढलेको बताएका छन् । गत फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमामा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि सबैभन्दा धेरै प्रभावित टर्कीका ११ प्रान्तहरूमध्ये मालात्या एक प्रान्त हो ।

भूकम्पका कारण टर्की र सिरियामा गरेर ४८ हजारभन्दा बढीको मृत्यु भएको छ भने टर्कीमा १ लाख ७३ हजार भवनमा क्षति भएको छ । सो भूकम्पपछि देशमा करिब १० हजार परकम्पहरू गइसकेको टर्कीका अधिकारीहरूले जानकारी दिएका छन् ।