परीक्षा हलमा किशोरी मात्रै देखेपछि एक किशोर बेहोस

हामीमध्ये धेरैलाई अपरिचितसँग कुरा गर्न अफ्ठेरो लाग्छ । अझ कसैलाई त विपरीत लिङ्गीसँग कुरा गर्नुपर्‍यो भने पसिना नै आउँछ । तर यहाँ एक किशोरको पसिना मात्रै आएन, हालत नै खराब भयो ।

अडिटी सेन्ट्रलका अनुसार भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् । खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त्यसले उनको नौ नारी खिच्यो । पूरा हल भरी केटी मात्रै त्यो पनि लगभग ५०० जना । उनको टाउको घुम्यो, बेहोसै भएर ढले ।

‘परीक्षा केन्द्रमा ५०० जना केटीहरू थिए । यो देखेर उनी असहज भए र उनलाई ज्वरो नै आयो,’ प्रसादकी काकीले एएनआई समाचार एजेन्सीसँगको कुराकानीमा भनिन् । बेहास भएपछि उनलाई उपचारका लागि नजिकैको स्थानीय अस्पताल लगियो ।

मनिषका बुवा सच्चिदानन्दले पछि इन्डिया टिभीसँगको कुराकानीमा आफ्नो छोरोको बेहोस भएको थुप्रै घण्टापछि मात्रै होस आएको बताए । उनले भने, ‘केटीहरूले भरिएको कोठामा एक्लो केटा भएको अनुभवले उनलाई यति धेरै स्तब्ध बनाएको थियो कि के कारणले बेहोस भयौ भनेर सोध्दासमेत उनले बोल्न सकेनन् ।’