गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार तातोपानी गाऊपालिका गिडीखोला जुम्लामा जन्म भई हाल चन्दननाथ टोल नेपालगंजमा बसोवास गर्ने लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ ।

लेखक पाण्डे विगत दुई दशक देखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयता पूर्वक निरन्तर लाग्नु भएको छ । निजले बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर देउडा विगतदेखि बर्तमान सम्म नामक पुस्तक समेत प्रकाशन गर्नु भएको छ ।

पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन बृतिमा कर्णालीको लोक साहित्यको अध्ययन समेत गर्नु भएको छ । उक्त कृति हाल प्रकाशोन्मुख अबस्थामा रहेको छ । निजले मधुपर्क, यूवामञ्च, मिर्मिरे, कान्तिपुर, गोरखापत्र लगायत क्षेत्रीय तथा स्थानीय स्तरका पत्रपत्रिका र स्मारिकाहरुमा देउडा, लोकसाहित्य तथा संस्कृति सम्बन्धी लेख रचना समेत प्रकाशित गरि सक्नु भएको छ ।

हाल जिल्ला हुलाक कार्यालय बांकेको कार्यालय प्रमुख पदमा कार्यरत पाण्डे कर्मचारी मिलन केन्द बांकेको उपाध्यक्ष समेत हुन । उनी नेत्रज्योती संघ नेपाल, नेपाल रेडक्रस सोसाइटी, मानव सेवा आश्रम लगायतका संघसंस्था मार्फत समाज सेवामा सकृय रुपमा संलग्न रहेका छन् । निजलाई नेपाल सरकारले यस वर्षको पचास हजार रासीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको छ ।