आँबु–पोखरा सडक बिस्तार : डेढ वर्षमा १० प्रतिशत काम

तनहुँ ।

तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन ।

सडक विस्तार गर्ने क्रममा ठाउँठाउँमा भित्ता काट्ने काम हुँदा सडक धुलाम्य छ । निकट वस्तीका वासिन्दाहरु सडक विस्तारको काम कहिले सकिएला र धुलोबाट मुक्ति पाइएला भन्ने आशामा बसेका छन् ।

८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर निर्माण थालिएको झण्डै डेढ वर्ष वितेको छ । तर, प्रगति भने जम्मा १० प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् । तुलनात्मक रूपमा सजिलो भूगोल भए पनि ठेकेदार कम्पनीले कामको स्पीड बढाउन सकिरहेको पाइँदैन ।

अहिलेको सिजन कामका लागि मुख्य समय मानिन्छ । यो समयमा कामलाई गति दिन नसके केही महिना पछि नै बर्खा लाग्ने र झनै काम गर्न नसकिने अवस्था आउने आयोजनाका अधिकारीहरु बताउँछन् ।

सडकको भित्ता काट्ने, रिटेनिङ्ग वाल लगाउने, नाली बनाउने काम जारी छ । रुख काट्ने काम लगभग सकिएको छ भने, विद्युतका पोल सार्ने काम अझै पनि बाँकी छ ।