बाँकेमा ६ लाख बढिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य

फागुन ११ गतेबाट अभियान सुरु हुने

कोहलपुर ।

बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान सुरु हुन लागेको छ । बाँकेको ८ पालिकाका ६ लाख भन्दा बढिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्यका साथ फागुन ११ गतेबाट अभियान सुरु गर्ने लागेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगका फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

बुधबार जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको पत्रकारसंगको अन्तरिक्रया कार्यक्रममा बाँकेका ६ लाख भन्दा बढिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्यका साथ फागुन ११ गतेबाट अभियान सुरु गर्न लागिएको हो ।

बाँकेमा हात्तीपाइले रोगको उच्च जोखिममा भएकोले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधि सेवन गर्न हात्तीपाइले रोगका फोकल पर्सन दुर्गा गौतमले बताए ।

गौतमका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ७० हजार ५ सय ९८ जना, कोहलपुर नगरपालिकामा १ लाख २ हजार ९ सय ४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३० सय ७ जनालाई औषधि खुवाउने लक्ष्य छ ।

यस्तै जानकी गाउँपालिकामा ४७ हजार ७ सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार १ सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८ सय ७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३ सय ४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको फोकल पर्सन गौतमले बताइन् ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको उनको भनाई छ । उनले पाँच वर्ष लगातार औषधि खुवाएपछि प्रि टाक्स सर्भे गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधि खुवाउन लागिएको बताइन् ।