पाँचौं राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनमा बुढा र रावत प्रथम

शुदाम शर्मा, कर्णाली ब्यूराे प्रमुख ।

सानीभेरी गाउँपालिकामा आयोजित पाँचौं राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनमा पुरुष तर्फ रुकुम पश्चिमका दुर्गा बुढा र महिला तर्फ जुम्लाकी मञ्जु रावत प्रथम हुनुभएको छ । जनयुद्ध दिवसको अवसरमा सोमबार भएको म्याराथनमा पुरुष तर्फ विभिन्न ठाउँका ६१ जना धावकले प्रतिस्पर्धा गरेकामा रुकुम पश्चिमका बुढा प्रथम हुनुभएको हो ।

निर्धारित ४६ किलोमिटर दुरि ४ घण्टा ५८ मिनेटमा पार गर्दै बुढा पहिलो भएको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । भोजपुरका उमेश राई दोस्रो हुनुभयो । उहाँले निर्धारित दुरि ५ घण्टा ४ मिनेटमा पार गर्नुभयो । त्यस्तै ५ घण्टा ११ मिनेटमा दुरि पार गर्दै सानीभेरी गाउँपालिकाका अर्जुन वस्नेत तृतिय तथा ५ घण्टा २१ मिनेटमा दुरि पार गर्दै रुकुम पूर्वका हिमाल बुढा चौंथो हुनुभयो ।

महिला तर्फ प्रथम हुने रावतले निर्धारित ३४ किलोमिटरको दुरि ३ घण्टा २४ मिनेटमा पुरा गर्नुभयो । महिला तर्फ खोटाङकी प्रिया राई दोस्रो, जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो र सुर्खेतकी विन्दु हमाल चौंथो भएको प्रतियोगिता व्यवस्थापक खेलकुद विकास समिति सानीभेरीका अध्यक्ष भिमप्रकास विकले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने राइले निर्धारित दुरि ३ घण्टा ३४ मिनेट, तेस्रो हुने रावतले ३ घण्टा ४१ मिनेट र चौंथो हुने हमालले ३ घण्टा ४२ मिनेटमा दौड पुरा गर्नुभयो ।

सानीभेरी गाउँपालिकाले हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गरिल्ला म्याराथन आयोजना गर्ने गरेको छ । यो प्रतियोगिताको पाँचौं संस्करण हो । यसपटक देखि म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सहयोग गरेको छ । राखेपले यो वर्ष प्रतियोगिताका लागि १५ लाख सहयोग गरेको छ भने गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको थियो ।

तत्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धका क्रममा माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन संचालन गर्ने गरिएको छ । माओवादीले लडाकु उत्पादनका लागि प्रयोग गरेको मौराखारा लेकका नामबाट यस प्रतियोगिताको नामाकरण गरिएको छ । धावकहरुलाई दौडाएर यही लेकसम्मै पुर्याउने गरिएको छ । म्याराथनको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, राट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ लगायतले उद्घाटन गर्नुभएको थियो ।