स्वास्थ्य मन्त्रालयको ३० वटा न्यूनतम साझा कार्यक्रम तयार, २०८० भित्र होला त पूरा ?

काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मन्त्रालय सम्हालेपछि सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गतको एकीकृत कार्य योजना तयार पारेका छन् । स्वास्थ्य मन्त्री गिरीले २०८० सम्ममा ३० वटा न्यूनतम साझा कार्यक्रम सम्पन्न गर्ने गरी समयसीमा समेत तोकेका छन् ।

न्यूनतम साझा कार्यक्रमअन्तर्गत मौजुदा संगठन संरचनामा परिमार्जन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग, सङ्घ अन्तर्गतका अस्पतालहरूको संगठन तथा व्यवस्थापनलगायत सर्वेक्षण रहेको छ ।

ती संगठन तथा व्यवस्था सर्वेक्षणसम्बन्धि समिति गठन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मन्त्रालयहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय रहने कार्ययोजनामा उल्लेख छ ।

स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि नयाँ ऐन तर्जुमा वा विद्यमान ऐनमा समयानुकूल परिमार्जन गरिने भएको छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० स्वीकृतका लागि अर्थ मन्त्रालयको राय सहमतिपश्चात् मन्त्रीपरिषद्मा पुनः ०७९ फागुनसम्ममा पेस गरिने भएको छ ।