दाङमा रकम ठगी गरेको आरोपमा २ जना पक्राउ

दाङमा कम्पनीको नाममा समुह बनाएर नागरिकहरुबाट लाखौं रकम उठाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीका शुरेस घले र युवराज उपाध्यायलाई पक्राउ गरेको हो ।

जिल्ला संयोजक शुरेश घलेलाई बर्दियाबाट र युवराज उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

एक हप्ता पहिले नै शुरेस घलेलाई पक्राउ गरे पनि युवराज उपाध्यायको खोजी भईरहेकाले पक्राउ गरेको कुरा पहिले सार्वजनिक नगरेको अर्यालको भनाई छ ।

तुलसीपुर ६ मा कार्यालय खोलेर कम्पनीको नाममा सर्वसाधारणबाट लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको आर्यालले बताउनुभयो । केही समय पहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।

ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवाविरूद्ध किटानी जाहेरी दिएका थिए । कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षेत्र बनाएर कार्य ठगी कार्य गर्दै आएको थियो ।

कम्पनीले ती स्थानका सर्वसाधारण कृषकको उन्नतिका लागि भन्दै किसानलाई सदस्य बनाउने बहानामा समुह बनाएर प्रतिकिसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो ।।