ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

ललितपुर ।

ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए ।

बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन् ।
ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए ।

ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका–७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो ।

दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो । अन्य ६ जनालाई सामान्य चोट लागेको एसपी पोखरेलले बताए ।