चार वर्षमा पनि बनेन घुमाउने घाटको पुल

चितवन ।

चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेमा बनाउन लागिएको पक्की पुल चार वर्ष बितिसक्दा पनि बनिसकिएको छैन । ठेकेदारले समयमा नै काम नगर्दा पुलको जम्मा ३५ प्रतिशत मात्रै काम सकिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको बीच भागबाट घुमाउनेबाट सिधै तनहुँको जिल्ला जोड्ने भन्दै निर्माण थालिएको पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ ।

घुमाउनेमा पुल तरेर बुद्धसिंह मार्ग हुँदै तनहुँ सदरमुकाम दमौलीसहित पोखरा लगायतका क्षेत्रमा जान २५ किलोमिटर सडक छोटो पर्ने हुँदा यहाँ पुल बनाउन लागिएको हो । तनहुँको सदरमुकाम दमौलीदेखी घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ ।

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरु चल्ने गर्दछन् । सेती नदीको किनारै किनार बुद्धिसिंह मार्गको घुमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलवास हुँदै दमौली पुग्न सकिन्छ ।